काठमाडौं-सिओल उडान गर्ने निगमको तयारी, भाडादर सस्तिने

Yangle News
Yangle News
२०७९ फाल्गुन ३० गते
काठमाडौं-सिओल उडान गर्ने निगमको तयारी, भाडादर सस्तिने

नेपाल वायुसेवा निगमले काठमाडौं-सिओल उडान गर्ने भएको छ । कोरियन एयरको एकाधिकारका कारण यात्रुले महंगो भाडा तिर्नु परिरहेको समाचार बाहिरिएपछि निगमलाई सो रुटमा उडान गर्न पर्यटन मन्त्री सुदन किराँतीले निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशनसँगै निगमले सिओल उडानको गृहकार्य थाल्ने भएको छ ।

निगमका सूचना अधिकारी गणेशकुमार घिमीरेले मन्त्रीको निर्देशनसँगै उडानको गृहकार्य थाल्न लागेको जानकारी दिएका छन् । ६ घण्टाको उडान अवधि रहेको काठमाडौं-सिओलको भाडा कोरियन एयरले दुई लाख रुपैयाँसम्म लिदै आएको छ ।

केही वर्षदेखि कोरियातर्फ नियमित उडान गर्ने योजना रहे पनि नेपाल युरोपियन युनियनको सुरक्षा सूचीमा परेको र कोरियाबाट सेफ्टी अडिटका लागि नआएकाले प्रक्रिया अगाडि नबढेको उनले बताए । उनका अनुसार सेफ्टी अडिटका लागि पनि पत्राचार गरिएको छ ।
घिमीरेले भने, ‘यो रुटमा भाडादर घटाई निगमलाई उडान गर्न मन्त्रीज्युबाट निर्देशन आएको छ, निगमले उडान गरेपछि भाडादर पनि सस्तिनेछ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल – इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल उडान पूर्व सेफ्टी अडिटका लागि नायब महाप्रबन्धक विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय समिति समेत गठन गरिएको उनले बताएका छन् ।
नियमित उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्याण्ड, इन्फ्रास्ट्रक्चर एण्ड ट्रान्सपोर्ट अन्तर्गत नागरिक उड्डयन प्राधिकरणले अडिट गर्नेछ ।
हाल निगमले दुईवटा एयरबस ३२० र दुईवटा एयरबस ३३० गरी कुल चारवटा जहाजमार्फत दिल्ली, बैंग्लोर, मुम्बई, क्वालालाम्पुर, बैंकक, हङकङ, कतार, दुबई, जापान, साउदी अरेविया लगायत विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।