राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन गरिएको छ ।
शुक्रबार कोटेश्वरमा नेविसंघले महान्यायाधिवक्ताको कार्यालयले गरेको उक्त निर्णयको विरोध गर्दै प्रदर्शन गरेको हो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच मसाल खोसाखोसका क्रममा सामान्य घम्साघम्सी भएको थियो ।
सरकारले लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएपछि विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत बुधबार उक्त अभियोग फिर्ता लिएको हो ।
लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध साँध्ने नियत राखी अभियोजन गरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए । निवेदनकै आधारमा उनीविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिइएको हो । सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने टिप्पणी र आदेशमा भनिएको छ ।