आपतकालीन सेवा दिन तयार रहनु : स्वास्थ्यमन्त्री बस्नेत

Yangle News
Yangle News
२०८० असार ८ गते
आपतकालीन सेवा दिन तयार रहनु : स्वास्थ्यमन्त्री बस्नेत

 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेकाले देशभरका स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि, उपकरण सहित आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटनका अवसरमा मन्त्री बस्नेतले नेपालको जस्तो भूगोल भएको देशमा जतिबेला पनि आपतकाल आउन सक्ने भएकाले संभावित जोखिमलाई ध्यानमा राखेर आपतकालीन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरी पूर्वतयारी आवश्यक रहेको बताए ।

आपतकालीन अवस्था आउनुभन्दा पहिले नै हामीले कम्तिमा पनि सम्भावित क्षेत्रहरुमा खाद्यान र औषधि पुर्याउन सकेको खण्डमा आपतकालीनन अवस्था पनि उपचार सेवा दिन सकिने बताउदै मन्त्री बस्नेतले सीमित स्रोत र साधनकाबिच पनि उपचार सेवा प्रदान गर्नु पर्ने स्वास्थ्यकर्मीको दायित्य भएको स्मरण गराए । यसको लागि सरकारले सम्भावित क्षेत्रमा औषधि पठाइसकेको मन्त्री बस्नेतले जानकारी समेत दिए । भोलि सकिने कार्यशालामा विश्व स्वास्थ्य संगठन हेडक्वाटर, सेरोका विज्ञहरु सहित सात वटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरु, फोकल पर्सन र आपतकालीन उपचारमा संलग्न स्वास्थ्यकर्मी सहभागि छन् ।