रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

Yangle News
Yangle News
२०८२ फाल्गुन ९ गते
रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर-६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, धर्ना, नाराबाजी लगायतका गतिविधिमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा हालै भएको घटनापछि शान्ति-सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको उल्लेख छ । सूचनाअनुसार तोकिएको चार किल्लाभित्र पाँच जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने, प्रदर्शन तथा उक्साहटपूर्ण गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

निषेधाज्ञा लागू गरिएको क्षेत्र गौर नगरपालिका-६ अन्तर्गतका संवेदनशील स्थानहरू रहेको प्रशासनले जनाएको छ । आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

हिजो भएको ६ बुँदे सहमतिविपरीत आगजनी र घरमा तोडफोड हुन थालेपछि रौतहट प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरेको हो । नगरपालिकाको पूर्वतर्फ मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रलाई तोकिएको छ । शुक्रबार स्थानीय दुई समुदायबीच सामान्य विषयमा विवाद उत्पन्न हुँदा स्थिति तनावग्रस्त बनेको थियो । आजसमेत पुनः झडप तथा आगजनी र तोडफोड हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू  जारी गरेको हो ।

प्रशासनले स्थानीयवासीलाई शान्ति कायम राख्न सहयोग गर्न र अफवाहमा नलाग्न आग्रह गरेको छ । तनावग्रस्त क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

सूचना :

Yangle News