पर्यटकीय गन्तव्यका रूपमा चिनिने मानुङकोटमा १० फिट अग्लो राष्ट्रिय झण्डा राखियो

Yangle News
रासस
२०७९ पुस २८ गते
पर्यटकीय गन्तव्यका रूपमा चिनिने मानुङकोटमा १० फिट अग्लो राष्ट्रिय झण्डा राखियो

दमौली– तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ। टिम नेपो तनहुँले ३०१औँ पृथ्वीजयन्तीको अवसरमा मानुङकोटमा १० फिट अग्लो झण्डा राखेको हो।

Yangle News

पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राखिएको झण्डाको आज व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अनावरण गरे। सो अवसरमा नगरप्रमुख न्यौपानेले पर्यटकीय सम्भावनायुक्त मानुङकोटलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालको झण्डा राखिएकामा संस्थाको प्रशंसा गरे। स्वास्थ्य, शिक्षा, वातावरण र युवा नेतृत्व विकासको क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिका सकारात्मक रहेको न्यौपानेको भनाइ थियो।

टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले मानुङकोट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको अवस्थामा एउटा इँटा थप्ने उद्देश्यसहित नेपालको झण्डा राखिएको बताए।

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ। सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ पर्यटक उक्लिने गरेका छन्। अन्य दिनभन्दा शनिबार मानुङकोटमा पर्यटकको चाप बढ्ने गरेको छ। शनिबारको दिन करिब पाँच हजार पर्यटक यहाँ पुग्छन्।

मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको हो। मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन्।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ।