काठमाडौं महानगरपालिकाले आगामी आइतबार (असार २९ गते) बजेट ल्याउने भएको छ । आज बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि बिहान ९ बजे कार्यपालिकाको बैठक बस्नेछ ।
कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए । बालेनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे । उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो ।
बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेको छ । बैठकले आर्थिकतर्फ तीन प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्य सञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको बताइएको छ ।
गत पुस पहिलो सातादेखिको किचलोले पूर्णविराम पाउँदै महानगर बजेट ल्याउने बिन्दुमा पुगेको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइपास गरेर मेयर साहले बैठक राख्न खोजेपछि बजेट रोकिएको थियो । यही विवादका कारण निर्धारित मिति अर्थात् असार १० मा महानगरले बजेट ल्याउन सकेको थिएन ।