अखिल नेपाल फुटबल संघ (एन्फा)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न नियमित साधारण सभाले सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
सभाले सन् २०२५ का लागि डेढ अर्बभन्दा बढीको बजेटसमेत अनुमोदन गरेको छ । १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँ बजेट अनुमोदन भएको हो । यस वर्षको बजेट गत वर्षको तुलनामा बढेको हो । अघिल्लो आर्थिक वर्षमा एन्फाको बजेट १ अर्ब ३२ करोड रुपैयाँको हाराहारीमा रहेको थियो ।
गत वर्षको फिफा र एएफसीको भौतिक पूर्वाधारको खर्च गर्न नसकेको बजेटलाई यो वर्ष निरन्तरता दिने र सो बजेट समेत जोडिंदा बजेटको आकार ठूलो भएको एन्फा प्रवक्ता सुरेश शाहले बताए । उनका अनुसार अघिल्लो वर्षको फिफाबाट प्राप्त अनुदान मध्ये पूर्वाधार तर्फको ४७ करोड ७६ लाख ७१ हजार ५ सय ४२ रूपैयाँ बजेट यो पटकलाई सारिएको हो ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पेश गरेको २०२५ को वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवक्ता शाहले जानकारी दिए । एन्फाले यो कार्यक्रमलाई वार्षिक क्यालेन्डर भनेको छ ।
२०२५ को लागि पुरुष, महिला युवा लगायतको कुल १६ कार्यक्रम रहेका छन् । जसमा एन्फाले आयोजना गर्न नसकेको लिग कम नकआउट पनि समावेश छ । सो क्यालेन्डरमा सहिद स्मारक ए डिभिजन लिग पुस १ गतेदेखि गरिने भनिएको छ । एन्फाका अनुसार पुस १ गतेदेखि लिग सुरु भएर २०८३ जेठ ३१ गते सकिने छ । फुटसलतर्फ कुल १४ कार्यक्रम रहेका छन् ।
पहिलोपटक आयोजना हुन लागेको महिला फ्रेन्चाइज लिग आगामी मंसिर तेस्रो सातादेखि सुरु हुने भएको छ । लिगमा उत्कृष्ट डिभिजनका आठ क्लबले सहभागिता जनाउने एन्फाले जानकारी दिएको छ । प्रतियोगिता माघ १४ गतेसम्म सञ्चालन गरिने भएको छ । यसबीचमा महिला टोलीले केही अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्ने छ । एन्फा आफैंले फ्रेन्चाइज लिग सञ्चालन गर्न लागेको हो ।
यसअघि उद्घाटन सत्र सुरू हुनु भन्दा पहिले एन्फा पूर्व अध्यक्ष गणेश थापालाई साधारण सभा हलमा प्रवेशमा रोक लगाउँदा केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । सी डिभिजन क्लब आरसी ३२ का प्रतिनिधि थापा साधारण सभा प्रवेश गर्न पाउने अदालतको आदेशसहित सभा स्थलको गेटमा पुगेका थिए । तर एन्फाले उनलाई प्रवेश गर्न दिएन ।