विदेशबाट ५ हजार डलरभन्दा बढी ल्याए भन्सार घोषणा अनिवार्य

Yangle News
Yangle News
२०८२ अशोज १६ गते
विदेशबाट ५ हजार डलरभन्दा बढी ल्याए भन्सार घोषणा अनिवार्य

अर्थ मन्त्रालयले नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने जनाएको छ । मन्त्रालयले भन्सार घोषणा बिना ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक रहेको जनाएको छ ।

यसैगरी अर्थ मन्त्रालयले अधिकतम अमेरिकी डलर १ हजार ५ सय विदेशी मुद्रासम्म नगदमा राख्न सक्नेसमेत जनाएको छ । ‘नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म, भारतीय रूपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रूपैयाँसम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबरसम्म भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको छ,’ सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधाअन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रालगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १ हजार ५ सय वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको छ ।’

कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहींकतै भेटिएको अवस्थामा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको मन्त्रालयको भनाई छ ।

मन्त्रालयका अनुसार प्रचलित कानुनअनुसार आय आर्जन भएको र स्रोत खुलेको रकम सुरक्षित राख्न वा प्रयोग गर्न कुनै अवरोध छैन । तर विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानमा नगद जलेको वा जलेको अवस्थामा भेटिएको सूचना सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्राप्त भएको हो । सरकारको नीतिअनुसार सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने भएकाले सबैमा विद्युतीय भुक्तानी प्रयोग गर्न अनुरोध गरिएको छ ।

कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने जनाएको छ ।