अमेरिकाद्वारा भेनेजुएलामा भीषण हमला, राष्ट्रपति मादुरो पक्राउ परेको दाबी

Yangle News
Yangle News
२०८२ पुस १९ गते
अमेरिकाद्वारा भेनेजुएलामा भीषण हमला, राष्ट्रपति मादुरो पक्राउ परेको दाबी

अमेरिकाले भेनेजुएलाका विभिन्न स्थानमा भीषण आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार भेनेजुएलाका सैन्य अखडाहरूलाई निशाना बनाएर यो आक्रमण गरिएको हो ।

शनिबार बिहानैदेखि भेनेजुएलाको राजधानी काराकासमा ठुला विष्फोटका आवाजहरू सुनिएका छन् भने आकाशमा विमानहरू उडेको देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार सहरको मध्यभागमा रहेको ‘ला कार्लोटा’ सैन्य एयरफिल्ड र मुख्य सैन्य आधार शिविर ‘फुएर्टे ट्युना’मा आक्रमणको प्रभाव देखिएको छ ।

यी दुवै स्थानमा विस्फोट भएको भिडियोहरू सार्वजनिक भएका छन् । आक्रमणलगत्तै वरपरका बस्तीहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ । सहरका विभिन्न स्थानमा एकैसाथ विस्फोटको आवाज सुनिएको र राजधानी सहरमाथि धुवाँको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि केही हप्तादेखि लगातार दबाब सिर्जना गरेपछि भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना भेनेजुएली समकक्षी मदुरोमाथि लागुऔषध तस्करी र अपराधमार्फत अमेरिकामा घुसपैठ गरेको आरोप लगाउँदै आएका छन् । अमेरिकाले क्यारेबियन क्षेत्रमा लागुऔषध बोकेको शङ्कामा डुङ्गाहरूमाथि सैन्य कारबाही तीव्र पारिरहेको समयमा यो आक्रमण भएको हो । अमेरिकाले राष्ट्रपति निकोलस मदुरो अवैधानिक रूपमा निर्वाचित भएको र उनी व्यक्तिगत रूपमै लागुऔषध तस्करीमा संलग्न रहेको दाबी गरेको छ ।

यता भेनेजुएला सरकारले भने वासिङ्टनका पछिल्ला कदमहरू राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको तेल भण्डारमाथि नियन्त्रण जमाउन केन्द्रित रहेको बताएको छ । प्रतिबन्धित तेल ट्याङ्करहरू जफत गर्नु पनि अमेरिकाको सोही योजनाको हिस्सा भएको भेनेजुएलाको भनाइ छ ।

अमेरिकी हमलापछि भेनेजुएलामा संकटकाल लागू गरिएको छ । राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् । भेनेजुएला सरकारले आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो भूभागमा अमेरिकाले गम्भीर सैन्य आक्रमण गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ ।

राष्ट्रपति मादुरोले ‘बाह्य अशान्ति’को अवस्थालाई मध्यनजर गर्दै राज्यको विशेष आदेशमा हस्ताक्षर गरी तत्काल लागू गर्न निर्देशन दिएका छन् । भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदायसमक्ष अमेरिकाको यस कदमलाई ‘अत्यन्त गम्भीर सैन्य आक्रामकता’ को संज्ञा दिँदै यसले राष्ट्रको राजनीतिक स्वतन्त्रतालाई जबरजस्ती तोड्न खोजेको आरोप लगाएको छ । राष्ट्रपतिले उपयुक्त समय र परिस्थितिमा सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न सेनालाई आदेश समेत दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष अपरेशनका क्रममा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन् । यसबारे थप जानकारी दिन उनले फ्लोरिडास्थित मार ए लागोमा पत्रकार सम्मेलन गर्ने समेत बताएका छन् ।