अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र हमास दुवैले गाजाक्षेत्रमा जारी युद्ध रोकेर शान्ति स्थापनाका लागि सहमति गरेको जनाएका छन् ।
सहमतिअनुसार बन्दीको मुद्दामा आफ्नो शान्ति योजनाको पहिलो चरणलाई दुवै पक्षले स्वीकार गर्ने ट्रम्पले ट्रुथ सोसियलमा घोषणा गरेका छन् । उनले यसलाई ऐतिहासिक र अभूतपूर्व कदमका रूपमा व्याख्या गरेका छन् ।
सम्झौताअनुसार दुवै पक्षले सबै जीवित बन्दी चाँडै नै रिहा गर्नेछन् । इजरायली सेनाले आफ्ना सैनिक सहमत सीमामा फिर्ता बोलाउनेछ । यसका साथै युद्धविराम लागू हुने सहमति भएको छ । हमासबाट हुने बन्दीको रिहाइको बदलामा इजरायलले २५० जना आजीवन कैद सजाय भोगिरहेका र १,७०० गाजावासी कैदीलाई रिहा गर्नेछ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौतालाई इजरायलका लागि ठूलो दिन भनेका छन् । उनले भने, ‘हामी सबै बन्दीलाई घर ल्याउँदैछौं । यो एक कूटनीतिक सफलता र इजरायल राज्यको लागि राष्ट्रिय तथा नैतिक जित हो ।’
यसैबीच नेतन्याहू र ट्रम्पबीच ‘भावनात्मक’ टेलिफोन वार्ता भएको छ । सम्झौताको घोषणापछि दुवै नेताहरूबीच ‘धेरै भावनात्मक र नजिकको कुराकानी’ भएको अलजजिराले लेखेको छ । फोन संवादका क्रममा नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (क्नेसेट) मा सम्बोधन गर्न आमन्त्रित गरेका छन् ।
उता हमासले सम्झौताको पुष्टि गर्दै यसको कार्यान्वयनमा जोड दिएको छ । उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई सम्झौताका सर्तहरू पूरा गर्न बाध्य गर्न आह्वान गरेको छ ।
इजरायलमा बन्दीहरूका परिवारहरूले यो खबरलाई उत्साह, प्रत्याशा र चिन्ताको रूपमा स्वागत गरेका छन् । बन्दीहरूको लागि पहल गर्दै आएको ‘द होस्टेजेस एण्ड मिसिङ्ग फैमिलिज फोरम’ ले ट्रम्पलाई ‘प्रतिबद्धता र दृढताको’ लागि धन्यवाद दिएको छ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमासबीचको युद्धविराम घोषणालाई ऐतिहासिक अवसर भन्दै स्वागत गरेका छन् । उनले यो सम्झौताबाट मध्यपूर्वमा लामो समयदेखिको युद्ध टुंगिएर दुई राष्ट्र समाधानतर्फको विश्वसनीय राजनीतिक बाटो खोल्ने बताएका छन् । राष्ट्र संघ महासचिवले यो सहमतिलाई प्यालेस्टाइनी भूभागमा इजरायली कब्जा अन्त्य गर्न सहयोग पुर्याउने महत्त्वपूर्ण काम भनेका छन् ।
गुटेरेसले संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको पनि प्रशंसा गरेका छन् । ‘संयुक्त राष्ट्र संघले अब गाजामा राहत, पुन:र्निर्माण र पुनःस्थापनाका प्रयासलाई अझ तीव्र बनाउनेछ’, उनले भनेका छन् ।