त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेको विमानस्थलले जनाएको छ । अघिल्लो वर्ष ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो ।
कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए ।
विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो ।
यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिए । कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।
सन् २०२३ मा अन्तर्राष्ट्रिय उडान अवतरण ३१ हजार चार सय ६० भएको छ । जुन गत वर्षको तुलनामा २९ दशमलव ४० प्रतिशतले बढेको हो । यो कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटि हो । सो अवधिमा कार्गो आवागमन २२ हजार नौ सय ४६ टन भएको थियो । जुन गत वर्षको तुलनामा १३ दशमलव ९८ प्रतिशतले घटेको छ ।
आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ । जुन गत वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशत कम हो । सो अवधिमा आन्तरिकतर्फ ९६ हजार नौ सय ८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ ।
आन्तरिकमा कार्गो आगमन तीन हजार ४२६.८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताए । यो गत वर्षको तुलनामा १० दशमलव ३६ प्रतिशतले बढि हो । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ ९ एयरलाइन्स र १२ हेलिकप्टर कम्पनी सञ्चालनमा छन् । यस्तै अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् । नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ ।