आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।
विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावापानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलराम जोशीले अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको बताए ।
उनका अनुसार यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । उनले भने, ‘कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशको दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भू-भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।’
त्यसैगरी मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको जोशीले बताए ।
अधिकतम तापक्रमको आँकलन
जोशीले अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर-पूर्वी भू-भाग, कर्णाली प्रदेशको उत्तरी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग, गण्डकी प्रदेशको पश्चिमी भू-भाग, मधेश प्रदेशको पश्चिमी भू-भाग र बागमती प्रदेशको मध्य भू-भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको बताए । उनले भने, ‘त्यसैगरी मधेश प्रदेशको पूर्वी भू-भाग र गण्डकी प्रदेशको मध्य भू-भागमा सरदर भन्दाबढी रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ र देशका बाँकी भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।’
न्यूनतम तापक्रमको आँकलन
विभागले न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ जनाएको छ । ‘कर्णाली र बागमती प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको मध्य भू-भाग, मधेश प्रदेशका पश्चिमी भू-भाग र कोशी प्रदेशको तराई भू-भागमा न्यूनतम तापकम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिण-पश्चिमी भू-भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भू-भाग र कोशी प्रदेशको उत्तरी भू-भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दाबढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।’
विभागका अनुसार यस आँकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपहरूको आँकलन र दक्षिण एसियाली जलवायु मौसमी दृष्टिकोण मञ्च आँकलनको आधारमा तयार गरेको हो ।
पूर्वसूचना प्रणाली विकासका लागि समझदारी
विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्नेसम्बन्धी एक समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आज राष्ट्रिय मनसुन दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच विभागका तर्फबाट महानिर्देशक कमलराम जोशी र इप्पानकातर्फबाट अध्यक्ष गणेश कार्कीले एमओयुमा हस्ताक्षर गरेक हुन् ।