प्रतिनिधिसभामा ४ मन्त्रीसँग प्रश्नोत्तर

Yangle News
Yangle News
२०८१ चैत्र १४ गते
प्रतिनिधिसभामा ४ मन्त्रीसँग प्रश्नोत्तर

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२:१५ मा बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको छ । अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार) पेस गर्ने कार्यसूची रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

58 views