रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि

Yangle News
Yangle News
२०८२ कार्तिक ३० गते
रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विवरणअनुसार, ०८२ साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रिने रेमिट्यान्स ११.९ प्रतिशतले बढेको थियो ।

२०८२ असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको सोही महिनामा एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।

गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २०८१ को असोज महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो ।

असोज महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ७.२० र ३.४९ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत थियो ।

देशको बाह्य क्षेत्रमा भएको कारोबार (चालु खाता) बचतमा देखिएको छ । समीक्षा अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड बचतमा देखिएको छ । गत वर्ष यही समयमा १ खर्ब १५ अर्ब ३६ करोड मात्र बचत थियो ।

अमेरिकी डलरमा हेर्दा पनि चालु खाताको बचत ८६ करोड डलरबाट बढेर १ अर्ब ६९ करोड डलर पुगेको छ । यस अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ । यस वर्ष ५ अर्ब ५५ करोड पुँजीगत ट्रान्सफर आएको छ, जुन गत वर्ष २ अर्ब मात्र थियो । तर, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भने घटेको छ । यस वर्ष १ अर्ब ७४ करोड मात्र वैदेशिक लगानी आएको छ । जबकि गत वर्ष ४ अर्ब ८१ करोड आएको थियो ।

समग्रमा देशको शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ । समीक्षा अवधिमा शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड बचतमा रहेको तथ्यांकमा उल्लेख छ । जुन गत वर्ष १ खर्ब ८४ अर्ब ९९ करोड थियो । डलरमा यो १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८८ करोड पुगेको छ ।