पछिल्लो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

Yangle News
Yangle News
२०८० कार्तिक २४ गते
पछिल्लो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको साउन,  भदौ र असोज महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स ३० प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने यो साउन, भदौ र असोजमा २ अर्ब ७६ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा २५.९ प्रतिशत बढी हो । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ कायम भएको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४९ हजार २९७ कायम भएको छ ।

विदेशी विनिमय सञ्चितिमा वृद्धि

चालु आर्थिक वर्षको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति ५.३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको हो ।

आर्थिक वर्ष २०८० र ०८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।