प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सपथ लिएका छन् । सिंहदरवारस्थित संसदमा उनीहरूले सपथ लिएका हुन् ।
संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई सपथ गराएका हुन् । सपथ समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी थिए । उनको मुद्दा अदालतमा चलिरहेका बेला सपथ लिन पाउने कि नपाउने बहस चलिरहेका बेला सभापति लामिछानेले पनि सांसदको सपथ लिएका हुन् ।
सपथ समारोहअघि संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संसदका काम कारबाही हाललाई बहुउद्देश्यीय हलबाट सञ्चालन गरिने बताए । उनले संसद हलमा कमी कमजोरीसमेत रहेको हुनसक्ने बताउँदै हाललाई सोही हलबाट काम चलाउने स्पष्ट पारे ।
संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक आ-आफ्नो मातृभाषामा शपथ लिएका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।