शटडाउनले अमेरिकी अर्थतन्त्रमा अर्बौं डलरको क्षति

Yangle News
Yangle News
२०८२ कार्तिक २७ गते
शटडाउनले अमेरिकी अर्थतन्त्रमा अर्बौं डलरको क्षति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार राति देशको इतिहासकै सबैभन्दा लामो (४२ दिन) सरकारी शटडाउन अन्त्य गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

संसद्ले रिपब्लिकन र केही डेमोक्र्याट सांसदबीच सहमति बनेको उक्त विधेयकलाई पक्षमा २२२ मत र विपक्षमा २०९ मतसहित पारित गरेपछि संघीय निकायहरू पुनः सञ्चालन हुने भएका हुन् ।

यो सम्झौताले आगामी जनवरीसम्मका लागि सरकारी कामकाजलाई सामान्य अवस्थामा फर्काउने बाटो खोलेको छ । तर, डेमोक्र्याटहरूले अफोर्डेबल केयर एक्ट (ओबामाकेयर) अन्तर्गतका कर छुट विस्तार गर्न माग गरेको विषय भने अझै अनिर्णित छ ।

यो शटडाउन ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि कांग्रेसमा डेमोक्र्याट र रिपब्लिकनबीचको सबैभन्दा ठूलो बजेट संघर्ष बनेको थियो । यस अवधिमा करिब सात लाख संघीय कर्मचारीहरूलाई कामबाट हटाइएको थियो । हवाई सेवा कटौती, संघीय फूड स्ट्याम्प्स कार्यक्रम रोकिएको र सैनिकहरूलाई तलब नदिइने अवस्थाले जनजीवन अस्तव्यस्त बनाएको थियो । सरकारी बजेट जनवरी अन्त्यमा पुनः समाप्त हुने भएकाले डेमोक्र्याटहरूले पुनः यही मुद्दा उठाउने तयारी गरेका छन् ।

यो सटडाउनले अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलरको क्षति पुर्‍याएको अनुमान छ । यसले डिसेम्बरको त्रैमासमा आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतले घटाउने प्रक्षेपण गरिएको छ । सटडाउनका कारण २० हजार उडान रद्द वा ढिलाइ भएको थियो ।