उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण गरिँदै

Yangle News
Yangle News
२०८१ असार ३१ गते
उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण गरिँदै

 

लमजुङको उदिपुर देउरालीडाँडामा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको छ । सङ्घीय सरकारको ११ करोड १९ लाख रुपैयाँ बजेटमा डुम्रे बेँसीसहर सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो खस्न नदिन पर्खाल निर्माण गरिएको हो ।

पर्खाल निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरलेले जानकारी दिए । हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मर्स्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माण भइरहेको उनले बताए ।

उनका अनुसार मर्स्याङ्दी नदीबाट सडकसम्म एक सय मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम बाँकी रहेको छ ।

फेवा कन्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ । कार्यालयका अनुसार सो कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना आगामी पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झैता म्याद छ । मौसमले साथ दिएमा निर्धारित समयमा काम सम्पन्न हुने बताइएको छ ।  सो स्थानमा विसं २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो ।

सडक बगाएपछि लामो समयसम्म वैकल्पिक रूपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो । ४२ किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रूपमा उदिपुर रहेको छ । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रुहरु यात्रा गर्ने गर्दछन् ।