राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेट भएको छ । ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसले आज शिष्टाचार भेट गरेका हुन् ।
त्यस अवसरमा उनीहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचारविमर्श भएको थियो । राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका निम्ति संयुक्त राष्ट्रसंघसँग निकट सम्पर्कमा रहेर नेपालले काम गर्ने बताएका थिए ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आमनिर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनाका साथै सुशासन, विकास र समृद्धिको यात्रा सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका थिए । नेपालले कार्बन उत्सर्जन नगण्य रूपमा गरे पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रताडित भएकाले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको राष्ट्रपति पौडेलले बताए ।