असिना पानीले किसानको अन्नबालीमा क्षति

Yangle News
Yangle News
२०८० जेष्ठ ७ गते
असिना पानीले किसानको अन्नबालीमा क्षति

 

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ ।  हिउँदे बाली भित्र्याउन नपाउदै गत बुधवार आएको असिनापानीले खेतबारीमै गहुँ, जौँ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन् ।

कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका–७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोखे । खप्तड छेडेदह –६ र ७ वडाका करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको पीडित किसानले जनाएका छन् ।

असिनापानीले वडा नं ६ को मैतोला, नाइना र सुदाडामा अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको छ भने वडा नं ७ को बुढाबाडा, लम्गाउँ, गुम्लागाउँ, कठायतबाडा, ओलीगाउँ र दानीगाउँमा नोक्सानी गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।

 

क्षतिको विवरण सङ्कलनमा सुरसार छैन

असिनापानीले जिल्लाको ठूलो क्षेत्रफलमा लगाएको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको भए पनि स्थानीय सरकार पालिका र कृषि ज्ञान केन्द्र बाजुराले विवरण सङ्कलनमा कुनै सुरसार नगरेको किसानले गुनासो गरेका छन् ।

वडा नं ६ का तीन सय ८० र ७ का पाँच सय २५ परिवार गरी नौ सय पाँच परिवार प्रभावित भए पनि गाउँपालिकाले क्षतिको विवरण सङ्कलनमा चासो नदेखाएको पीडित कृषक गौरी ओलीले बताइन् ।

क्षतिको विवरण सङ्कलनका गर्न पालिका र कृषि ज्ञान केन्द्र बाजुराले चासो नदेखाएपछि क्षतिपूर्ति नपाउने चिन्ता कृषकमा परेको छ ।