लामो समयदेखि विवादित र गिजोलिँदै आएको डेडिकेटेड र ट्रंकलाइनको विषय फेरि उठेको छ । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई कात्तिक १७ गतेभित्र बक्यौता महसुल बुझाउन अल्टिमेटम तोकेको छ ।
प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत सप्लाइ लिएका उद्योगी व्यवसायीहरूलाई कात्तिक १७ गतेसम्म बक्यौता विद्युत महसुल बुझाउन ताकेता गरेको हो ।
यसअघि डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महसुल बक्यौता रहेका ग्राहकलाई प्रशासकीय पुनरावलोकनको लागि २०८२ जेठभित्र निवेदन दिन सक्ने म्याद कायम गरेको थियो । तर, असोज १० गते प्राधिकरणमा बसेको सञ्चालक समितिको बैठकले सो म्याद कायम गर्ने निर्णय तथा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाहीहरू बदर गरेको हो ।
साथै, असोज १० गतेको बैठकले २०८१ असार ३१ गते, असोज २४ गते र कात्तिक २९ गतेको सूचना अनुसार नै २१ दिन समय थप गरेर आगामी कात्तिक १७ गतेभित्र भुक्तानी गर्न समयावधि थप गरेको प्राधिकरण संचालक समितिले निर्णय गरेको हो ।
मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । यदि कात्तिक १७ गतेभित्र बक्यौता महसुल बुझाउन नआएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।