बेसार खेतीबाट आम्दानीको बाटो खोज्दै युवा

Yangle News
Yangle News
२०८१ अशोज ६ गते
बेसार खेतीबाट आम्दानीको बाटो खोज्दै युवा

 

डोटीको दिपायलका चार युवाले सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जग्गामा बेसारखेती सुरु गरेका छन् ।  वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै स्थानीय तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले व्यावसायिक बेसारखेती सुरु गरेका हुन । अरु नै पेशामा गर्दै अएका उनीहरुले बचेको समय बेसार खेतीमा लगाएका छन् ।

दिनभरि आ–आफ्नै काममा व्यस्त भए पनि उनीहरु साँझ र बिहान समय निकालेर बेसार रोपेको ठाउँमा खनजोत गर्ने गर्छन् । अहिले बेसार बिक्रीका लागि बजारको खोजी भइरहेको उनीहरुले बताएका छन् ।

बेसार मात्रै होइन उनीहरूले पातलाई पनि प्रयोगमा ल्याउने योजना बनाएका छन् । बेसारको पातलाई खेर जान नदिएर टपरी बनाउने योजना पनि रहेको छ । बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने जनाइएको छ ।

कृषक तेज द्वारियाले बेसारको व्यावसायिक उत्पादनका लागि पहिलो चरणको काम सम्पन्न भएको र अब उत्पादनको बजार हेरेर थप योजना अगाडि बढाइने बताए । अपेक्षा गरेअनुसार कारोबार भएमा करिब ५० रोपनीमा खेती विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

बेसारखेतीका लागि युवाहरूलाई कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको छ । आर्थिक वर्ष २०८०–८१ को अदुवा तथा बेसारखेती क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत ज्ञान केन्द्रले बीउ खरिदका लागि रकममा ५० प्रतिशत अनुदान सहयोग गरेको कार्यालयका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताए । जिल्लाका तीनवटा पालिका जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा मात्र सीमित रहेको मसलादार बेसार खेती अन्य पालिकामा विस्तार गर्ने र कृषि पेसा गर्ने युवाहरूलाई प्रोत्साहन गर्न ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।