लोडसेडिङ छैन, उद्योगलाई पनि अधिकांश समय आपूर्ति : प्राधिकरण

Yangle News
Yangle News
२०८२ बैशाख १५ गते
लोडसेडिङ छैन, उद्योगलाई पनि अधिकांश समय आपूर्ति : प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत् आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ । माग र आपुर्तिबीचको सन्तुलन कायम गर्न भारतबाट विजुली आयात गरिरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचनालाई प्राधिकरणले भ्रमको संज्ञा दिएको छ । भारतबाट बिजुली आयात गर्दा १० भारतीय रुपैयाँभन्दा बढी नतिरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ । यसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २१ सय ४९ मेगावाट रहेका छन् । हाल आन्तरिक उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेकोमा, विद्युतको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको छ । त्यसमा १ हजार ५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको जानकारी दिइएको छ ।

प्राधिकरणले गर्मीयाम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत् आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई चौबिसै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको स्पष्ट गरेको छ ।

प्राधिकरणले हालको मौसमका कारण कतिपय स्थानमा आँधी, हुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुन सक्ने जनाएको छ । साथै, मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतै कतै विद्युत् बन्द हुने अवस्था आउन सक्नेछ, जसको सूचना अग्रिम रूपमा दिइँदै आएको छ ।

सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको छ । औद्योगिक ग्राहकलाई बेलुकाको समयमा खपत घटाउन आग्रह गरिएको छ । प्राधिकरणले वर्षा सुरु भएसँगै नेपालको नदीमा बहाव बढ्ने र आन्तरिक उत्पादन बढ्ने अपेक्षा लिएको छ ।