चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Yangle News
Yangle News
२०८२ भदौ १८ गते
चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँचदिने भ्रमण पूरा गरी बुधबार (भदौ १८) बेलुका स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ गएका थिए ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गते चीनको तियान्जिनतर्फ प्रस्थान गरेका थिए । उनी बुधबार बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औं वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग गत मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए । शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले बहुपक्षतामा जोड दिएका थिए ।

शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए । करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सन् २००१ मा स्थापना गरिएको एससीओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य छन् ।

अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।