राष्ट्रपतिसमक्ष पाँच मन्त्रीको नाम सिफारिस

Yangle News
Yangle News
२०८२ अशोज ५ गते
राष्ट्रपतिसमक्ष पाँच मन्त्रीको नाम सिफारिस

प्रधानमन्त्री सुशीला कार्कीले पाँचजना मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् । उनले आफ्नो समूहमा आज दिउँसोदेखि छलफल गरेकी थिइन् ।

साँझसम्म निकास निस्कन नसके पनि राति अबेर मात्रै उनले मन्त्रीहरूको नाम टुंगो लगाएकी थिइन् । साँझ अबेर मात्रै पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्रीमा सिफारिस गरेकी छन् । सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।

डा. मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छन् । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि उनले आइतबार नै राजीनामा दिएकी थिइन् । यस्तै पत्रकार खरेलललाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।

डा. परियारलाई कृषि विकास तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी दिन मन्त्रीमा सिफारिस गरिएको छ । उनी कृषि विज्ञ हुन् । वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक उनी पुनले दुर्गम जिल्लामा ताररहित इन्टरेनट विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै रोमन म्यागसेसे अवार्ड समेत पाएका थिए ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री कार्यालयबाट मन्त्रीहरूको सिफारिस राति आइपुगेको पुष्टि गर्दै भोलि शपथ हुने जानकारी दिएका छन् ।