साफ-२० महिला च्याम्पियनसिपमा नेपाल तेश्रोपटक उपविजेतामै सीमित

Yangle News
Yangle News
२०८२ साउन ५ गते
साफ-२० महिला च्याम्पियनसिपमा नेपाल तेश्रोपटक उपविजेतामै सीमित

साफ-२० च्याम्पियनसिपअन्तर्गत अन्तिम खेलमा नेपाल बंगलादेशसँग फेरि स्तब्ध बनेको छ । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिनामा भएको खेलमा खेलमा बंगलादेशले नेपाललाई ४-० गोलले हराउँदै च्याम्पियन बनेको हो ।

यसअघि समूह चरणकै खेलमा नेपाल बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । आजको खेलमा घरेलु टोलीका लागि फरवार्ड मोसमत सागोरिका नायक बनिन् । उनले ह्याट्रिकसहित चार गोल गर्दै टोलीलाई उपाधि जिताइन् । खेलको ८औं मिनेटमै सागोरिकाले नेपालको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै पहिलो गोल गरिन् ।

यसअघिको नेपालविरुद्धको खेलमा रातो कार्ड पाएर तीन खेल प्रतिबन्धमा परेकी सागोरिकाले पुनरागमनको खेलमै उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरेकी हुन् । यो जितसँगै बंगलादेशले प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै लगातार दोस्रोपटक यू-२० महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो ।

यो पटक उपाधि जित्न नेपाललाई आज जित जरुरी थियो । बंगलादेशलाई भने बराबरी नै पर्याप्त थियो । योसहित नेपाल तेस्रो पटक उपविजेतामा सिमित बनेको हो । यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो । दुवै पटक नेपाल बंगलादेशसँग नै हारेको थियो । नेपाल तीन पटक तेस्रो भएको इतिहास छ ।

डबल राउन्ड फर्म्याटमा भएको प्रतियोगितामा बंगलादेशले श्रीलंकालाई ९-१ र ५-०, नेपाललाई ३-२ र ३-० तथा भुटानलाई ४-१ र ३-० ले हराउँदै ६ मध्ये सबै खेल जितेर १८ अंकका साथ च्याम्पियन बन्यो । नेपालले भने भुटानलाई ६-१, श्रीलंकालाई दुईपटक ७-० र भुटानलाई फेरि ८-० ले पराजित गरे पनि बंगलादेशसँग दुई हार व्यहोर्दै १२ अंकमा सीमित रह्यो । नेपाल प्रतियोगिताको उपविजेता बन्दा भुटान तेस्रो र श्रीलंका पुछारमा रह्यो ।

अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन् । भारत र बंगलादेशले एक संस्करण संयुक्त रुपमा उपाधि जितेको थियो । भारतले कुल २ पटक उपाधि जितेको छ ।