प्रतिनिधिसभा विघटनविरुद्ध ११ दल र सभामुखबीच छलफल आज

Yangle News
Yangle News
२०८२ अशोज २९ गते
प्रतिनिधिसभा विघटनविरुद्ध ११ दल र सभामुखबीच छलफल आज

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्दैछन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका छन् । सभामुख घिमिरेले आज बिहान ११ राजनीतिक दललाई छलफलमा बोलाएका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका हुन् ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने बोलाइएको छैन । प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूलाई पनि सभामुखले बोलाएका छन् ।

सभामुख घिमिरेले दलहरुलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका छन् ।