को हुन् हमासले ४८ बन्दीको तस्बिरमा शिर्षक बनाइएका ‘रोन अराड’

Yangle News
Yangle News
२०८२ अशोज ४ गते
को हुन् हमासले ४८ बन्दीको तस्बिरमा शिर्षक बनाइएका ‘रोन अराड’

हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल-कस्साम ब्रिगेड्स’ले शनिबार आफ्नो टेलिग्राम च्यानलमार्फत गाजामा रहेका ४८ जना बन्दीको तस्बिर सार्वजनिक गरेको छ । ‘बिदाई तस्बिर’ शीर्षकमा सार्वजनिक तस्बिरमा नेपालका विपिन जोशी पनि छन् ।

ती तस्बिरमा जीवित र मृत दुवैलाई समावेश गरिएको छ । तर, उनीहरुको अवस्था र विस्तृत विवरण भने खुलाइएको छैन । हमासले जारी गरेको विज्ञप्तिमा इजरायलको निरन्तर स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन संकटमा परेको दाबी गरिएको छ ।

इजरायली अधिकारीहरूले अझै करिब २० जना बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितहरूको संख्या अझै कम हुन सक्ने बताएका छन् ।

शनिबार हामासले दिएको उक्त धम्कीपछि हजारौं इजरायलीहरू पुन: तेल अभिभ र अन्य सहरका सडकमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले तत्काल युद्ध अन्त्य गरेर बन्दीहरूको सुरक्षित फिर्तीको माग गरेका छन् ।

को हुन् रोन अराड ?

सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूलाई ‘रोन अराड’ शीर्षकमा क्रमशः नम्बर राखेर देखाइएको थियो । रोन अराड सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेन हुन् ।

चालक रोन अरादलाई सुरुमा लेबनानमा शिया समूहहरूले कब्जा गरेको विश्वास गरिएको थियो तर अहिले उनलाई मृत मानिएको छ । उनको अवशेष फिर्ता गरिएको छैन । हराएका वा कब्जा गरिएका सैनिकहरूलाई घर ल्याउनु राष्ट्रिय कर्तव्य मानिने इजरायलमा उनलाई दशकौंदेखि एक दुःखद् घटनाको स्मरण गराउने व्यक्तिका रूपमा चित्रित गरिँदै आएको छ ।

Yangle News

यसअघि हामासले दुई जना इजरायली बन्दीको भिडियो सार्वजनिक गरेको थियो । त्यसको करिब एक महिनाअघि दुईजना कुपोषित बन्दीहरूको अर्को भिडियो प्रसारण गरिएको थियो, जसमा एकलाई आफ्नै चिहान खन्न बाध्य बनाइएको देखाइएको थियो ।

यी भिडियो र तस्वीरहरूले बन्दीका परिवारहरू, इजरायली अधिकारी तथा अमेरिकी र अन्य सहयोगी राष्ट्रहरूमा आक्रोश उत्पन्न गराएका छन् ।

मारिनेको संख्या ६५ हजार बढी

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि इजरायलसँगको युद्ध सुरु भएपछि कम्तीमा ६५ हजार २०८ जना मारिएका छन् । जसमा १ लाख ६६ हजार २७१ जना घाइते भएका छन् । मार्च १८ मा इजरायलले हामाससँगको युद्धविराम तोडेयता मात्र १२ हजार ६५३ जना मारिएका छन् । ५४ हजार २३० जना घाइते भएका छन् । इजरायलले सम्पूर्ण क्षेत्रलाई युद्ध क्षेत्र घोषित गरेको छ ।

गाजा सहरमा पछिल्लो दिन मात्रै दर्जनौं मानिस मारिएका छन्, घरहरू ध्वस्त पारिएका छन्, हजारौं मानिस भाग्न बाध्य भएका छन् । गाजाबाट बिस्थापित भएकाहरु पिउने पानी, खाना र आश्रयस्थलको अभावका बावजूद गाडी, टेम्पो र पैदलै समेत जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

Yangle News