प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेकी छन् । सोमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।
अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको बताइन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरूले सहिरहेको बताइन् । मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरू खेप्न आफूहरू तयार रहेको प्रधानमन्त्री कार्कीको धारणा थियो ।
उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने बताइन् । राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको उनको भनाइ छ । जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू पनि सच्चिन जरुरी रहेको बताइन् ।
“यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दलहरू भनेको दोस्रो कुरा हो,” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले आफूहरू जेनजीका रगतमा ऐस आराम गर्न नआएको बताइन् । उनले सबैलाई निर्वाचनमा सहभागी हुन आह्वानसमेत गरिन् ।