बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् ।
प्रतिकुल मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए ।
‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन्,’ उनले भने, ‘अविरल वर्षाको समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ ।’ अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । आजै विराटनगरबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाज खराब मौसमका कारण पोखरामा अवतरण गरिएको छ । काठमाडौंमा मौसम खराब भएपछि जहाजलाई पोखरामा अवतरण गरिएको हो ।
काठमाडौंसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ ।
यसअघि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।