नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतसहितका सरकारी संरचना जोगाउन अन्तिमसम्म कोसिस गरेको जवाफ दिएको छ ।
नेपाली सेनाका युद्धकार्य विभाग प्रमुख अनुपजंग थापाले भदौ २४ गते राति १० बजेदेखि सडकमा निस्किनुनअघि नै उपत्यकाका १८ मध्ये १२ वटा दमकल प्रयोग गरेर आगो निभाउने कोसिस गरिएको जवाफ दिएका छन् ।
देशको मुख्य प्रशासनिक केन्द्र, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत र संसद् भवन जोगाउन नसकेको आरोप खेपिरहेको सेनाले भौतिक क्षतिभन्दा मानवीय क्षति ठूलो भएकाले त्यसतर्फ सोचिएको बताएको छ ।
‘जहाँसम्म सिंहदरबार जोगाउन नसकेको कुरा छ । अत्यन्त संयमता अपनाएर घातक शक्तिभन्दा कम उपायहरू अपनाइएको हो । सेनाले भदौ २४ गते सिंहदरबार घेर्न आएको भिडलाई रोक्न सेनाले ४६ राउन्ड हवाई फायर गरेको हो’, उनले भने, ‘सेनाले दुई दुई पटकसम्म मूलगेटबाट छिरेको हुललाई बल प्रयोग गरेर बाहिर पठाएको थियो । तर तेस्रो पटक चारै दिशाबाट अत्यन्त आक्रोशित भिड छिरेपछि परिस्थितिलाई सम्हाल्न सकिएन ।’
थापाले आक्रोशित भिड भड्किसकेको अवस्थामा पनि सेनाले सुरक्षाका लागि पहल लिएको बताए । ‘सेनाले अघोषित रुपमा पनि शान्ति सुरक्षाका लागि पहल लिएको थियो । सिंहदरबार जोगाउन सक्दो प्रयास गरेकै हो’, उनले भने, ‘तर हाम्रा लागि भौतिक सुरक्षाभन्दा ठूलो मानवीय सुरक्षा थियो । यदि सेना कठोरपूर्वक बल प्रयोगतिर उत्रिएको भए सयौंको ज्यान जान सक्ने थियो । त्यसैले कमभन्दा कम मानवीय क्षतिको विकल्पतर्फ सेनाले कदम चालेको हो ।’
त्यसैगरी युद्धकार्य विभागका प्रमुख थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमचयन कायम गर्न सेनाले आवश्यक पहल लिएको स्पष्टीकरण दिए ।
‘यसको पहलबाटै नियत के थियो भन्ने आँकलन गर्न सकिन्छ । सेनाले आन्दोलनलाई सहयोग पुर्याएको तर्क गरिएको छ तर त्यस्तो होइन’, उनले भने, ‘सेनाले भदौ २४ गते राति अवस्था सामान्य पार्न पहल नगरेको भए देशको अवस्था के हुन सक्थ्यो ? अराजक वातावरणको न्यूनीकरणका लागि सेनाले सबै समूहसँग वार्ताको पहल गरेको हो ।’
उनले सेनाले कहिले पनि राजनीति नगर्ने बताउँदै त्यस बेलाको परिस्थिति सम्हाल्न दुर्गा प्रसाईं सहितका समूहसँग पनि वार्ता गर्नुपरेको उल्लेख गरे । ‘त्यो परिस्थितिलाई सम्हाल्न मात्रै सेनाले कदम चालेको हो’, उनले भने, ‘सेनालाई राजनीतिक गर्ने इच्छा छैन, राजनीति गर्दैन पनि । तर देश अराजक अवस्थामा रहेको बेला सेनाले वार्ताको पहलदकमी लिएको हो । यसमा कुनै शंका गर्नुपर्ने कारण छैन ।’
उता प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा लागेको आगो ललितपुर महानगरपालिकाको दमकल बोलाएर तीन दिनपछि निभाएको भनेर दिएको अभिव्यक्तिबारे पनि सेना बोलेको छ ।
नेपाली सेनाको युद्ध कार्य निर्देशनालयका प्रमुख मनोज थापाले राउतको भनाइको खण्डन तर गरेनन् तर भदौ २४ गते सर्वोच्चमा लागेको आगो २५ गते नै निभेको जवाफ भने दिए । ‘सर्वोच्च अदालतमा लागेको आगो भोलिपल्टै निभाइएको थियो, ललितपुरको दमकलले त्यो आगो निभएको होइन’, उनले भने, ‘तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाएको भनिएको छ, त्यो सत्य होइन, त्यस कुराको म खण्डन गर्दिनँ । यथार्थ के हो भने सर्वोच्चको आगो भोलिपल्ट नै निभेको हो ।’
बस्नेतले ललितपुरको दमकलले स्थानीय एक काष्ठ उद्योगमा निभाउँदैछ भन्ने सुनेपछि त्यहाँस्थित गणपतिलाई भनेर काठमाडौंका सरकारी कार्यालयमा लागेको आगो निभाउन झिकाइएको बताए । ‘हामीले नै पहल लिएर ललितपुरको दमकललाई सिंहदरबार र सर्वोच्च अदालतको आगो निभाउन पठाऊ भनेपछि आएको हो । उपत्यकाका १८ वटा दमकलमध्ये १२ वटा प्रयोग गरेको हो । विमानस्थलको दकमलबाट समेत आगो निभाउने काम भएको हो’, उनले भने, ‘जुन किसमिको आगो लागेको हो, उपलब्ध दमकलले छिटोभन्दा छिटो आगो निभाएको हो ।’
सेनाले नक्सालस्थित हिल्टन होटलबाहेक अन्य सबै ठाउँको आगो निभाउन पहल लिएको जनाएको छ ।