मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीले भोलीदेखि पुनः पाउने भएका छन् । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत भएसँगै उपत्यकावासीका धारामा माघ १ गतेदेखि पुनः पानी पुर्याउन लागिएको हो ।
मेलम्चीको पानी पुनर्वितरणको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गर्ने कार्यक्रम छ । पुनर्वितरणको शुभारम्भ भएपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।
बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा उत्रिएका थिए ।
पुस ३ गते उपत्यकाका घरघरमा पानी पुर्याउने मेलम्ची खानेपानी विकास समितिको बोर्डको निर्णय अनुसार ४ पुसदेखि दुई सिफ्टमा जनशक्ति परिचालन गरी पथान्तरणको काम सुरु भएको थियो । सो काम पुस २७ गते नै सकेर सुरुङमा पानी हालिएको थियो । केही दिन पानी बगाएर सुरुङ सफा गरेपछि उपत्यकावासीका धारामा पानी वितरण सुरु गर्न लागिएको हो ।
आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ साल फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उदघाटन गरेका थिए ।
त्यसको एक महिनापछि चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्चीको पानी वितरण शुभारम्भ गरेकी थिइन् । तर पानी वितरण अघि गर्नुपर्ने थुप्रै काम बाँकी भएकाले धारामा पानी आउन केही दिनमै बन्द भएको थियो ।
सोही वर्षको जेठ मसान्तमा आएको ठूलो बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवर्क्स लगायतका क्षेत्रमा क्षति पुर्याएपछि पानी वितरण पूर्णरुपमा बन्द भएको थियो । प्रधानमन्त्री प्रचण्डले माघ १ गते चौथो पटक मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नेछन् ।