अदालतको आदेशमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ९ महिनापछि पार्टी बैठकको अध्यक्षता गरेका छन् । लामिछानेको अध्यक्षतामा आइतबार पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बसेको छ ।
केन्द्रीय समिति बैठकमा मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल भएको नेताहरूले बताएका छन् । सभापति लामिछानेले प्रतिनिधिसभा पुन:स्थापनाले निकास नदिने बताएका छन् । चुनावमा जानुको विकल्प नरहेको उनको भनाइ थियो ।
तर, चुनावमा जानुअघि जेनजी विद्रोहका माग पूरा गर्नुपर्ने उनले बताए । ‘कुन संसद् ब्यूँताउन खोज्नु भएको तपाईंले ? जनताको मुद्दा बोल्दाबोल्दै माइक काट्ने संसद् ? भ्रष्टाचारका काण्डमा छानबिन गर्नुभन्दा संख्याको बलमा सामसुम पार्न ब्यूँताउन खोज्नुभएको होइन ?’ उनले प्रश्न गरे ।
उनले भदौ २३ र २४ को विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्न जरुरी रहेको बताए । ‘युवाहरूको विद्रोहलाई क्रान्तिलाई बदल्न बाँकी छ, सिंहदरबार बनाउँला बदल्न बाँकी छ । भत्किएका संरचना बनाउने मात्र होइन बदल्ने तागत हामीसँग छ,’ लामिछानेले भने, ‘अहिलेको निकासका लागि निर्वाचनमा जानुको विकल्प छैन, त्यसअघि जेनजी विद्रोहका अपेक्षा पूरा गर्नुपर्छ ।’
लामिछानेले सुशासन कायम गर्ने सवालमा रास्वपा सरकारसँग सधैं साथमा रहेको बताए । उनले युवाको चाहनाअनुसार नयाँ शक्तिहरूसँग मिलेर जान तयार रहेको पनि उल्लेख गरे ।