डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा

Yangle News
Yangle News
२०८२ असार ३२ गते
डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा

स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण गर्न डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्नका लागि साउन महिनालाई डेंगु सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्यमन्त्री पौडेलले साउन महिनाबाट डेंगु संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । डेंगु संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पूरा गर्न डेंगु सचेतनाबाहेक अरु कुनै विकल्प नरहेको उनले बताए ।

मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अबको चार महिना सबै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे । डेंगु सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको बिषय सरकारको मात्रै समाजको पनि भएकाले सबै एक भएर डेंगुमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

डेंगु संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेंगु संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको छ । चालू आर्थिक वर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेंगु संक्रमित भएका छन् ।