नेपालदेखि कोरियासम्मको हवाई उडानको अवधि ६ घण्टाको छ । ६ घण्टाको यात्रा गरे पुगिने काठमाडौंदेखि सिओलको भाडा कोरियन एयरले दुई लाख रुपैयाँसम्म लिने गरेको छ । जबकी यो भन्दा लामो नेपाल-अष्ट्रेलियाको १० घण्टा उडान अवधिको भाडादर भाडादर १ लाख ८० हजार रुपैयाँ हाराहारीमा छ ।
नेपाल- कोरिया एउटा मात्रै कोरियन एयरले उडान गर्ने हुँदा एकाधिकारको फाइदा उठाउँदै उसले यात्रुसँग अस्वाभाविक भाडा असुलिरहेको हो। नेपालबाट कोरियाका लागि उड्ने यात्त्रु धेरैजसो वैदेशिक रोजगारीका लागि जाने गर्छन् । कोरियन एयरले अस्वाभाविक रूपमा भाडा निर्धारण गर्दा समेत नियामक निकाय भने मौन छ। एयरलाइन्स्हरुको भाडादरबारे नियमन गर्ने काम वाणिज्य विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । तर हालसम्म दुवै निकायले भाडादरका विषयमा छानबिन गरेका छैनन् ।
‘वैदेशिक रोजगारीमा जाने नेपालीसँग अस्वाभाविक रुपमा पैसा लिँदा समेत नियामक निकाय मौन बस्नु दुर्भाग्यपूर्ण हो,’ पर्यटन मन्त्रालयका एक कर्मचारीले भने, ‘यसले सरकारी निकायमा बसेकाले एयरलाइन्सको पक्षपोषण गरेर सामान्य नागरिकमाथि आर्थिक भार थप्ने काम गर्छन भन्ने प्रष्ट हुन्छ।’
कोरियन एयरले साताको चार उडान काठमाडौं-सिओल-काठमाडौं गरिरहेको छ । नेपालमा कोरियन एयरको जीएसएको काम युनिभर्सल टुर्स एण्ड ट्राभलले गर्दै आएको छ। नेपाल र कोरियाबीच सन् २००४ मा दुईपक्षीय हवाई सम्झौता भएको थियो । जस अनुसार साताको ८०० र वार्षिक ४१ हजार ६०० यात्रुले सेवा लिन सक्नेछन् ।
कोरियामा नेपाल सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत नेपाली कामदार पठाउने गरेको छ । कोरियामा ४० हजार भन्दा बढी नेपाली कार्यरत छन् । त्यहाँ जाने नेपालीले मासिक दुई लाख रुपैयाँ कमाउँछन् ।
सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच श्रमका लागि नेपाली कामदार लाने विषयमा सहमति भएको थियो । त्यही सहमति अनुसार सरकारले न्यूनतम शुल्क लिएर कामदार कोरिया पठाउने गरेको छ ।