काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको १७औं अधिवेशनको पहिलो बैठकमा बजेट पेस गरेकी हुन् ।
उनले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याइएको बताइन् । महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो । ‘आगामी आर्थिक वर्षका लागि संचित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ,’ उनले बजेट भाषणका क्रममा भनिन्, ‘नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ ।’
काठमाडौं महानगरपालिकाले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको छ । ‘पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ,’ उनले बजेट भाषणमा भनिन्, ‘कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।’
अगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् । उनले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनमा भएको समयसीमा भन्दा केही ढिलो भएको स्वीकार गरिन् । विगतका दिनमा केही मनमुटावले ढिलो भएको पनि उल्लेख गरिन् । ‘हामीबीच केही अविश्वास, केही तिता-मिठा अनुभव प्रस्तुत भए, आरोप-प्रत्यारोप पनि भए, सबै कुरा मन्थन भयो । समस्याहरू समाधान पनि भए र आज हामी फेरि एकढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौं,’ उनले भनिन्, ‘समयमै आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र सबै नगरसभा सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना व्यक्त गर्दछौं ।’
उनले आफूहरू काठमाडौंको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधि भएको बताउँदै काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहरूबीच परस्पर सहकार्य र समन्वयमा काम अगाडि बढाउन चाहेको पनि उल्लेख गरिन् । ‘यसका लागि हामीले संघ र प्रदेश सरकारसँग सधैँ सहकार्यको अपेक्षा राखेका छौं,’ उनले भनिन् ।
पूर्णपाठ :