दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी न्यायाधीश शिशिरराज ढकालको इजलासले म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि अदालतले १२ दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ ।
प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याएको थियो । उनीहरु दुवै भारतमा पक्राउ परेको बताइएको छ । उनीहरूलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याएर सरकारी वकिलको कार्यालय हुँदै अदालत लगिएको थियो ।
गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए । यसअघि उक्त प्रदर्शनपछि पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवल शमशेर जबरासहित दुई पटक गरेर २० दिनका लागि हिरासतमा छन् ।