सुकुम्वासी बस्ती हटाउँदा ढुंगामुढा, दुई जना नगर प्रहरी घाइते

Yangle News
Yangle News
२०८२ साउन ३० गते
सुकुम्वासी बस्ती हटाउँदा ढुंगामुढा, दुई जना नगर प्रहरी घाइते

काठमाडौंको मनोहरामा वर्षौंदेखि जग्गा कब्जा गरेर बसेका सुकुम्वासीलाई हटाउन पुगेको नेपाल प्रहरी र महानगर प्रहरीमाथि ढुंगामुढा भएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरीले शुक्रबार बिहानैदेखि डोजर चलाएर २५ वटा टहरा भत्काइएपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन डोजरसहित महानगर प्रहरी पुगेपछि सुकुम्वासीहरूले ढुंगामुढामा उत्रिएका हुन् ।

नगर प्रहरीमाथि ढुंगामुढा गरिएपछि नेपाल प्रहरीसमेत परिचालन गरिएको थियो । प्रहरीले रोक्न खोज्दा सुकुम्वासीहरू प्रहरीमाथि जाइलागेका हुन् । सुकुम्वासीको ढुंगामुढाबाट दुई जना नगर प्रहरी घाइते भएका छन् ।

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न भएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनका अनुसार सुकुम्वासीका सबै समान बाहिर निकालेर मात्रै घर टहरामा डोजर लगाइएको हो ।