निर्वाचन आयोगले बिहीबार (कात्तिक २७)सम्म दुई लाख ५७ हजार ५०५ मतदाता थपिएको जनाएको छ । आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय तोकेकोमा पाँच दिन थप गरेको छ ।
आगामी मंसिर ५ गतेसम्म नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ । आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार, १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् ।
त्यसैगरी, आयोगमा नयाँ राजनीतिक दल दर्ताका लागि २८ वटा निवेदन परेका छन् । आयोगका अनुसार, शुक्रबार साँझसम्म २८ निवेदन प्राप्त भएका हुन् । आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञ प्रसाद भट्टराईले शुक्रबार मात्रै दल दर्ताका लागि पाँचवटा नयाँ निवेदन परेको जानकारी दिए ।
सबै निवेदन प्रक्रियामा रहेको र आवश्यक जाँचबुझ भइरहेको उनले बताए ।