पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरूमाथि शृङ्खलाबद्ध भौतिक आक्रमण हुन थालेको भन्दै सुरक्षाको माग गरेका छन् ।
सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका उनीहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे । प्रदर्शनमा पाटन अस्पताल, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल लगायत काठमाडौं उपत्यकाका चिकित्सकहरू सहभागी छन् ।
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले सोमवार चिकित्सकमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।
त्यस्तै, आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेंसीशहर नगरपालिका, ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले चिकित्समाथि कुटपिट गरेका थिए । कुटपिट गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको छ ।
यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना चिकित्समाथि कुटपिट गरेका थिए। त्यतिबेला चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा सबै अवरूद्ध गरी आन्दोलन गरेका थिए ।