दोस्रो विश्वयुद्धका अमेरिकी सैनिक एवं सामाजिक सञ्जालमा पापा जेक नामले चर्चित जेक लार्सनको १०२ वर्षको उमेरमा निधन भएको छ ।
लार्सन सन् १९४४ मा फ्रान्सको तटमा नाजी जर्मनीविरुद्ध भएको ‘डी-डे’ आक्रमणमा सहभागी अमेरिकी सैनिकमध्ये एक थिए । उक्त आक्रमणले दोस्रो विश्वयुद्ध अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
जीवनको उत्तरार्द्धमा लार्सन सामाजिक सञ्जाल टिकटकमा लोकप्रिय थिए । टिकटकमा उनका १२ लाखभन्दा बढी फलोअर थिए । त्यहाँ उनी दोस्रो विश्वयुद्धका कथाहरू र आफ्ना सहयोद्धाहरूको सम्झना सुनाउँथे ।
तीन हप्ताअघि मात्र उनले ‘डी-डे’ को ८०औं वार्षिकोत्सवको अवसरमा बेलायती-इरानी पत्रकार क्रिस्टियन अमानपुरसँगको अन्तर्वार्ताका लागि प्रतिष्ठित एमी अवार्ड जितेका थिए ।
नातिनी म्याकेला लार्सनले टिकटकमा एक भिडिओमार्फत जेक लार्सनको निधन १७ जुलाईमा भएको जानकारी दिएकी हुन् । ‘उहाँले अन्तिम समयसम्म मजाक गर्दै हाँस्दै बिताउनुभयो,’ नातिनीले लेखेकी छन्, ‘पापा जेकसँगको सम्झना बाँड्न पाउँदा म धन्य छु । उहाँलाई तपाईँहरू सबै असाध्यै प्यारो लाग्थ्यो ।’ उनले आफ्नो परिवारलाई केही समय एक्लै रहन दिन पनि आग्रह गरेकी छन् ।
पापा जेकले दोस्रो विश्वयुद्धमा बेल्जियमको बट्ल अफ बल्जमा समेत सेवा गरेका थिए । उनी १९ वर्षको उमेरमा उत्तरी आयरल्याण्डको लर्गनमा खटिएका थिए ।