कपिलवस्तुको राजापानी वनमा गिद्ध आहार केन्द्र बनाइँने

Yangle News
Yangle News
२०८० असार ५ गते
कपिलवस्तुको राजापानी वनमा गिद्ध आहार केन्द्र बनाइँने

 

कपिलवस्तुको बाणगङ्गा नगरपालिका ३ राजापानी सामुदायिक वनमा गिद्ध आहार केन्द्र बनाउने तयारी भएको छ । सामुदायिक वनले स्थानीय सरकार र सङ्घ संस्थाको सहयोगमा आहार केन्द्र सञ्चालन गर्ने तयारी गरेको वनका अध्यक्ष सिता देवी पौडेलले बताइन । नेपालमै सबैभन्दा धेरै गिद्धको गुँड भएको क्षेत्रमा गिद्धलाई सुरक्षित आहारा खुवाउनको लागि केन्द्र स्थापना गर्न लागिएको बताइएको छ ।

राजापानी वन गिद्ध संरक्षणको क्षेत्रमा देशकै नमुना रहेको हुँदा आहार केन्द्र सञ्चालनमा नगरपालिकाले लगानी गर्ने बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले बताए । गाई गोरु बुढो र रोगी भएपछि सडकमा छाडिदिने प्रचलन भएको हुँदा छाडा चौपायाको सङ्ख्या कम हुने अर्यालको भनाइ छ । आहार केन्द्र सञ्चालनका लागि पहिलो वर्ष ३५ लाख बढी लगानी हुने बताइएको छ ।

सामुदायिक वनले नगरपालिका आसपासका बस्तीमा मृत्यु भएका पशु चौपायाको शवलाई वन क्षेत्रमा ल्याएर आहारा खुवाउँदै आएको थियो । वन क्षेत्रमा आहारा पाउन लागेपछि गिद्धले गुँड लगाउन सुरु गरेको थियो । वनले बुढो, कमजोर र रोगी भएका चौपया पालेर मृत्युपछि गिद्धलाई आहाराको रूपमा खुवाउने गरी आहार केन्द्र सञ्चालन गर्ने योजना रहेको वनका पूर्व अध्यक्ष ढाकाराम अधिकारीले जानकारी दिए ।

वनले सन् २००९ बाट नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) सँगको सहकार्यमा गिद्ध संरक्षण गर्दै आएको छ ।  राजापानीमा सन् २०२२ मा लिएको गणना अनुसार ११३ गिद्धका गुँड छन् । गिद्धले वर्षमा एउटा मात्र अण्डा दिने गर्छ । चैत महिनामा गुँडबाट ८४ गिद्धको बच्चा निस्किएका थिए । राजापानीमा लोपोन्मुख प्रजातिको डङ्गर गिद्ध र सानो खैरे गिद्धले वासस्थान बनाउँदै आएका छन् ।

 

 

276 views