नेपालको पर्यटनमा इरान युद्धको असर

Yangle News
Yangle News
२०८३ बैशाख २१ गते
नेपालको पर्यटनमा इरान युद्धको असर

नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिल महिनामा पर्यटक आगमनमा ७ प्रतिशतभन्दा धेरैले घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको अप्रिलमा १ लाख ७ हजार ९३४ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् ।

यो संख्या गएको वर्षको अप्रिलको तुलनामा ७.३ प्रतिशतको गिरावट हो । सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० जना पर्यटक भित्रिएका थिए । अप्रिल महिनामा सबैभन्दा धेरै भारतबाट २५ हजार १९६ जना, दोस्रोमा चीनबाट ११ हजार ७२२ जना र तेस्रोमा अमेरिकाबाट ८ हजार ७२४ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ जना पर्यटक आएका थिए । त्यसपछि कोभिड-१९ महामारीका कारण पर्यटन क्षेत्र प्रभावित भएकोमा सन् २०२२ पछि सुधार हुँदै गएको वर्षको अप्रिलमा सन् २०१९ को अप्रिलभन्दा पनि धेरै पर्यटक नेपाल आएका थिए ।

यो वर्ष मध्यपूर्व युद्धका कारण पर्यटकको संख्या पुनः घटेको हो । युद्धका कारण हवाई सेवामा अवरोध, मूल्यवृद्धि, सुरक्षा चिन्ता लगायतका कारण पर्यटकको संख्या घटेको पर्यटन व्यवसायीहरू बताउँछन् ।