बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी छोरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री हसिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको हो । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस गरेको उनीहरू विरुद्धको अभियोगपत्र स्वीकार गरेका समाचारमा बताइएको छ । आरोपीहरू फरार रहेको भन्दै अदालतले उनीहरूविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको समाचारमा बताइएको छ ।
आरक्षण विरूद्धको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि गत अगस्ट ५ मा हसिना देश छाडेर भागेकी थिइन् । हाल उनी भारतमा शरण लिएर बसिरहेकी छन् । निर्वासनपछि उनीविरूद्ध बंगलादेशको अदालतमा हत्या र मानवअधिकारको गम्भीर उल्लंघनका आरोपमा १६ भन्दा बढी मुद्दा दर्ता भएका छन् ।