बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १३ पुग्यो

Yangle News
Yangle News
२०८२ माघ २२ गते
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १३ पुग्यो

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । पुर्चौडी नगरपालिका-७ को भौनीबाट बेहुली लिएर फर्किंदै गरेको जन्ती बस बढ्गाउँ मोडमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खसेको हो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको छ ।

दुर्घटनामा परेर हालसम्म १३ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरूमा बझाङको बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेश राज जोशी छन् । त्यस्तै, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका-७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका-७ की पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।