डेंगु संक्रमण बढ्न नदिन सचेत रहनुहोस् : स्वास्थ्य मन्त्रालय

Yangle News
Yangle News
२०८१ असार ९ गते
डेंगु संक्रमण बढ्न नदिन सचेत रहनुहोस् : स्वास्थ्य मन्त्रालय

 

यो वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैमा आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले डेँगु फैलिन सक्ने खतरा भएको भन्दै यस्तो आग्रह गरिएको हो ।

मनसुन लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले सङ्क्रमणको सङ्ख्यासमेत बढ्न सक्ने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशका ७२ जिल्लाहरूबाट १ हजार २४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुलको प्रयोग गर्ने र पुरै शरीर छोपिने लुगा लगाउन उहाँको सुझाव छ ।

डेंगु सङ्क्रमण रोकथाम नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक भएकाले यस अभियानमा सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैले आफ्नो स्थानमा समन्वय, सहजीकरण एवं सहभागिता जनाउन अनुरोध गरिएको छ । डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सात प्रदेश तथा सबै स्थानीय तहहरूमा बर्षातको समयमा हुन सक्ने डेंगु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको उनले जानकारी दिए ।

मन्त्रालयले सङ्घ,  प्रदेश,  स्थानीय तह,  मातहतका निकायसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन गर्नुका साथै रोगलाई नियन्त्रण गर्न योजना बनाएको उल्लेख गरेको छ । डेंगु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधोपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ ।

उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगुका मुख्य लक्षण हुन् । एक्कासि उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाई, श्वास प्रश्वासमा समस्या, र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परामर्श गर्न मन्त्रालयले भनेको छ ।