आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ ।
दुबईको आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै २७१ रन बनाएको थियो । नेपालले दिएको २७२ रनको विजयी लक्ष्य पछाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै २७३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
अमेरिकाका लागि मिलिन्द कुमार र साइतेजा मुक्कामल्लाले १२३ रनको साझेदारी गर्दै अमेरिकालाई जितको बाटोमा डोर्याएका थिए । ४२.५ ओभरमा सन्दीप लामिछानेको बलिङ स्पेलमा मिलिन्त कुमारले ७० रन बनाउँदै भीम सार्कीको हातमा क्याच भए ।
व्यक्तिगततर्फ साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बलमा २ चौका र १ छक्का प्रहार गरे । ४५.२ ओभरमा उनी करण केसीको बलमा कुशल भुर्तेलको हातमा क्याच भए । अमेरिकाका ओपनरद्वय स्मिथ पटेल र शयान जहांगिरले क्रमश: १६ र ३६ रन बनाए । कप्तान मोनांक पटेलले २१ रन बनाए । शुभम रन्जानीले १९ रन बनाउँदा सञ्जय कृष्णमूर्ति १५ र हर्मित सिंह १३ रनमा अभिजित रहे । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । गुल्सन झा, करण केसी र नन्दन यादवले १-१ विकेट लिए ।
पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे । ओपनर ब्याटर कुशल भुर्तेलले ४७ रन बनाउँदा अर्का ओपनर आसिफ शेख २ रनमै बोल्ड आउट भए ।
तेस्रो क्रममा आएका भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए । करण केसीले महत्त्वपूर्ण ४९ रनको इनिङ्सले नेपाललाई २७० को आँकडा भेटाउन सहयोग गर्यो । सन्दीप लामिछाने ४ रनमा जित रहँदा ललित राजवंशी १ रनमा रनआउट भए । अमेरिकाको लागि हर्मित सिंहले सर्वाधिक ३ विकेट लिए । सौरभ नेत्रवल्कर र नोस्तुस केन्जीगीले समान २-२ विकेट लिए । जसदीप सिंह र शुभम रञ्जनेले १-१ विकेट लिए ।
नेपालले जारी श्रृंखलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भयो । लिग २ को तालिकामा हाल अमेरिका शीर्ष स्थानमा रहेको छ । २३ खेलमा १७ जित र ६ हारसहित अमेरिकाले ३४ अंक जोडेको छ ।
नेपाल भने १९ खेलबाट ५ जित र १२ हार तथा २ खेलमा अंक बाँड्दा १२ अंकसहित सातौं स्थानमा रहेको छ ।