म्याग्दीस्थित अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ ।
आरोहण सुरु भएको पहिलो दिन सोमबार (चैत २५) बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण संघले जनाएको छ ।
सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसनबाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेका संघका महासचिव मोहन लम्सालले जानकारी दिए । अरू दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएका उनले बताए ।
आरोहण टोलीका दुई शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन् । अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँपहिरोमा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकोप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।
वसन्त याममा अन्नपूर्ण आरोहणनिम्ति ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर आरोही, शेर्पा, पथप्रदर्शक, मजदुर र पर्यटकले भरिएको छ ।
हालसम्म ५२० जनाले अन्नपूर्णको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ-आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटर सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगिन्छ । त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्छ ।