नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आज सम्पन्न दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस फाइनलमा पुगेको हो । पहिलो सेटमा २५-१२ को सहज जित निकालेको पुलिसले प्रतिस्पर्धात्मक दोस्रो सेट २९-३१ ले गुमाउन पुगेको थियो । त्यसपछि, पुनः आफ्नो लयमा फर्किँदै पुलिसले पछिल्ला दुई सेट क्रमशः २५-१४ र २५-१८ ले जित्दै खेलको नतिजा आफ्नो पक्षमा पार्यो ।
यसअघि, आजै बिहान भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल एपीएफ क्लबलाई २५-१७, २५-२० र २५-७ गरि ३-० को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो । अब, पुलिस र डायमण्ड बीचको फाइनल खेल शनिबार दिउँसो १ बजे हुनेछ । त्यसअघि, बिहान ९ बजे सेमिफाइनलमा पराजित आर्मी र एपीएफबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी, पुरुषतर्फ उपाधिका लागि साबिक विजेता हेल्प नेपाल र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । आजै सम्पन्न दोस्रो सेमिफाइनलमा रुकुम पश्चिमलाई ३-२ को सेटमा पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीले पहिलो सेट २५-२० ले जितेको थियो । त्यसपछि बाँकी दुई सेट २३-२५, १५-२५ ले गुमाएको थियो । चौथो सेटमा २६-२४ तथा पाँचौं सेटमा १५-१२ ले विजयी हुँदै हेल्प नेपालसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा हेल्प नेपाल विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटले पराजित गर्दै उपाधिनजिक पुगिसकेको छ । हेल्प नेपालले पुलिसको चुनौती २५-२१, २५-२३ र २५-२२ ले पन्छाएको हो ।
यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरि कुल २० टोली सहभागी थिए । च्याम्पियनसिपबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोलीले दशौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागिता जनाउने अवसर पाउनेछन् । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ ।