जनकपुरधाममा खानेपानी माग्दै प्रदर्शन

Yangle News
Yangle News
२०८१ असार ७ गते
जनकपुरधाममा खानेपानी माग्दै प्रदर्शन

 

झण्डै एक महिनादेखि आन्दोलनरत चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरूले खानेपानीको माग गर्दै  जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

शुक्रबार ‘सरकार पानी देऊ’ ‘चुरे दोहन बन्द गर’ ‘खोलाको अवैध उत्खनन बन्द गर’ लगायत नारा लेखिएका घैँटा, प्लाकार्डसहित जनकपुरको जनकचोकदेखि मुख्यमन्त्री कार्यालयसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।

चुरे संरक्षण अभियान नेपालले १२ बुँदे मागसहित मधेशका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

अभियानले दिलीप महतोलाई प्रथम पर्यावरण शहीद घोषणा, चुरेको अवैध दोहन बन्द, संघीय सरकारद्वारा ल्याइएको ढुंगागिट्टी, बालुवा निकासी योजना खारेज, मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा, डढेलो नियन्त्रण तथा खुला चरीचरण बन्द गर्नुपर्नेलगायत माग राखेको छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सिंहले मधेश सरकारको अधिकार क्षेत्रअन्तर्गत पर्ने माग पूरा गर्न प्रयास गर्ने आश्वासन दिएका छन् । चुरे बचाऊ अभियन्ताहरूले सप्तरीको भरदहदेखि पद यात्रा गरी काठमाडौं पुगेर पनि २९ दिनदेखि आन्दोलन जारी राखेका छन् ।